पोसिलो कर्कलो

खानपिन
2.6kViews

काठमाडौँ : कर्कलोको नाम लिएपछि धेरैले ‘त्यस्तो पनि तरकारी हुन्छ र ? छ्या’ भनेर नाक खुम्च्याउँछन् । कर्कलोको पौष्टिक तत्त्वबारे थाहा पाए भने आहा भनेर खान थाल्छन् कि ! ऋषि पञ्चमीका दिन बिहान पूजा गरेपछि महिलाले कर्कलो र भात खाने चलन छ । व्रतसम्बन्धी दर्शनको म विरोधी हुँ, तर त्यो दिन पकाइने कर्कलो र भात म मिठो मानेर खान्छु ।

कर्कलोको हरियो पात पकाउँदा अमिलो हालिएन भने कोक्याउँछ । फलामको भाँडामा पकाएको कर्कलो अमिलो गोलभेँडा र भातसँंग खाँदा शरीरमा लौह तत्त्व पर्याप्त प्राप्त हुन्छ । कर्कलोमा क्याल्सियम, भिटामिन ए, सी, के लगायत पाइन्छ । तीज र पञ्चमीको व्रतपछि शरीरलाई पोषण दिन भनेर कर्कलो भात खाने चलन चलेको हुनुपर्छ । ऋषि पञ्चमीमा जसरी कर्कलो खोजी–खोजी खाने हो भने रक्तअल्पताबाट बच्न मद्दत पुग्थ्यो ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, देराममा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ । युरोपमा रोमन समयताकै पिँडालु कसरी पकाएर खाने भनेर किताबमै लेखिएको थियो ।

नेपालमा कर्कलो र पिँडालुलाई अपहेलित खाना मानिन्छ । कर्कलो र मासको मस्यौरा तातो भातसँग खाने मानिसले हत्पती स्वाद बिर्संदैनन् । कर्कलो र पिँडालु जताततै पाइने भएर अपहेलित भएका हुन् कि ? तराईतिर बाटो–बाटोमा कर्कलो हुर्किएको देखिन्छ । किन नटिपेको भनेर सोध्दा एक महिलाले भनेकी थिइन्, ‘यसमा त विष हुन्छ, खानु हुन्न ।’ ‘क्याल्सियम अक्सलेट’ नामक तत्त्वको उपस्थितिले कर्कलोमा केही विष हुनसक्छ । रातभरि पानीमा भिजाएर मजासंँग पकाएपछि त्यो विषालु तत्त्व नष्ट हुन्छ ।

घुँडा दुखाइको समस्या भएका मानिसले कर्कलो र पिँडालु कम खाएकै वा खान छाडेकै ठिक हुन्छ । उनीहरूले धेरै खाए दुखाइ बढेको अनुभव गर्न सक्छन् । स्वस्थ व्यक्तिले रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले खानु बेस हुन्छ । बाहिरका बट्टा/प्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिँडालुको तरकारी प्रयोग गर्नु धेरै राम्रो हो । लट्टेको सागको तरकारी दिँदा पाहुनाले छँुदै नछोएको नमिठो अनुभव मसंँग छ । त्यही लट्टे अंग्रेजी नाम दिएर ठूलो होटलमा बेच्दा सबैले रुचाउँछन् । लट्टेलाई विभिन्न नामबाट चिन्ने र प्रयोग गर्ने गरिन्छ । तराई तथा भित्री मधेसमा यसलाई चौलाई, रामदाना भनिन्छ भने पहाडी क्षेत्रमा लट्टे वा लुँडे, उच्च पहाड र कर्णाली एवं पश्चिमी क्षेत्रमा मार्से भन्ने गरिन्छ ।

अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको लट्टे पुराना बालीमध्ये एक हो । महाभारत हिमशृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशमा परापूर्वकालदेखि लट्टेको खेती प्रशस्त गरिन्छ । मेक्सिकोमा यसको दानाबाट अनेक खाद्य पदार्थ बनाइन्छ । मकै जस्तै भुटेर महसंँग मिलाएर पनि प्रयोग गरिन्छ । यो अफ्रिका, चीन, भारत, रसिया, अमेरिकामा समेत पाइन्छ ।

बज्यैहरूले व्रतका बेला लट्टेलाई दूधमा पकाएर ख्वाउनुभएको अझै याद छ । पौष्टिकताले भरिपूर्ण भएर यसको उपयोग व्रतका बेला गरिएको हुनसक्छ । रायो र पालुङ्गोको तुलनामा लट्टेमा सूक्ष्म पोषण विशेषगरी फलाम प्रचुर मात्रामा पाइन्छ । लट्टेको दाना ग्लुटिनरहित हुन्छ । ग्लुटिन पचाउन नसक्नेहरूका लागि लट्टेको परिकार प्रभावकारी हुन्छ । अमेरिकातिर धेरै प्रयोग गरिने अन्न किनुवाभन्दा लट्टेमा बढी ऊर्जा, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी– ६ पाइन्छ ।

म रगतको कमी भएका गाउँका महिलालाई लट्टेको साग खान जहिल्यै भन्छु । नजिकको तीर्थ हेला भनेझैं यो साग प्राय: सजिलै पाइने हुनाले कसैले वास्ता गर्दैन । कैलालीकी एक महिलालाई रगतको कमीले कमजोर महसुस भयो । उनलाई औषधिको गोली खान भनियो । उनकी साथीले उनलाई हरियो लट्टे दिनदिनै खान सल्लाह दिइन् । उनले पत्याइनन् । ‘हेरी हालुँन त’ भनेर दुई सातासम्म लट्टेको साग खाइन् । आफू निकै स्वस्थ भएको महसुस गरिन् । ‘घरमै रहेको औषधि बेवास्ता गरेर बाहिरबाट औषधि किनिँदो रहेछ,’ उनले सुनाइन् ।

माटोमा दाना छरेपछि धेरै स्याहार नगरेरै लट्टे हुर्किन्छ । हरियो र रातो लट्टे दुवैको स्वाद मिठो हुन्छ । यसको पात टिपी कोदो र फापरको पिठो हालेर खान मिल्छ । लट्टेको पातमा गोलभेँडा हालेर पकाएपछि भात वा रोटीसंँग कपाकप खान सकिन्छ । यो स्वाद तथा पोषण दुवैका लागि हो । लट्टेको दानाबाट अनेक परिकार बन्न सक्छन् । लट्टेको दाना भुटी केही तरकारी हालेर पकाउँदा स्वादिष्ट खाजा बन्छ । दाना पिसेर आटामा मिसाए स्वस्थकर रोटी बन्छ । बालबालिकाले हरियो सागपात नखाने समस्याबाट प्रत्येक अभिभावक पीडित हुन्छन् । दाल वा तरकारीमा लट्टेको दाना वा पात मिसाएर खानदिए बच्चाको स्वास्थ्य राम्रो हुन्छ । लट्टेमा गहुँभन्दा बढी रेशादार र लौह तत्त्व पाइन्छ । यो गर्भवतीका लागि अति उपयोगी छ । तर तराईमा प्राय: गर्भवतीका लागि कमै प्रयोग गरेको पाइन्छ । पोषणयुक्त कर्कलो र लट्टेको प्रबद्र्धनमा सरकारले कहिले ध्यान दिने हो ?

कान्तीपुर दैनिकको प्रकाशन कोसेलीबाट साभार

Leave a Reply

Your email address will not be published.