ज्याला मजदूरीमा कामदार राख्दा कृषि उद्यमीले बुझ्नु पर्ने कानूनी पक्ष

इतिहास / कानुन
1.8kViews

चिरन्जीवी नेपाल, अधिवक्ता

कृषि कर्म भनेकै ज्याला मजदूरीको भरमा चल्ने पेशा हो । ज्यालादारीमा मजदूर वा कामदार नराखी व्यवसायिक कृषि उद्यममा सफलता पाउन निकै चुनौतिपूर्ण हुन्छ । तर, धेरै कृषिकर्मीलाई ज्याला मजदूरी सम्वन्धि कानुनी प्रावधानको बारेमा जानकारी हुंदैन । त्यसले गर्दा कहिले कांही विवाद सृजना भएर हण्डर ठक्कर खानु पर्छ । त्यस्तो स्थिति नहोस भन्नको लागि कृषि कर्म गर्ने जो कसैले पनि ज्याला मजदूरी सम्वन्धि कानुनी प्रावधान बुझ्नु राम्रो हुन्छ । त्यहीकारण यहाँ ज्याला मजदूरी कानुनी प्रावधानको बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

सामान्य अर्थमा कुनै पनि व्यक्तिले अन्य व्यक्तिको काम गरिदिएबापत प्रतिफल स्वरूप प्राप्त गर्ने रकम अर्थात् आफ्नो श्रम कसैलाई उपलब्ध गराएबापत प्राप्त गर्ने आधारभूत पारिश्रमिक नै ज्याला हो । ज्याला प्राप्त गर्ने उद्देश्यले अन्य व्यक्तिको काम गरिदिनु मजदूरी हो । ज्याला मजदूरी, श्रम कानूनको विषय हुनाले श्रम ऐन २०७४ र नियमावली २०७५, बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ र नियमावली २०६२, हरूमा यस सम्बन्धमा विशेष व्यवस्था गरिएको छ ।

परम्परागत रूपमै चलिआएको यससम्बन्धी व्यवस्था २०२० साल भदौ १ गतेभन्दा अघिको मुलुकी ऐनमा झाराखेतालाको महलमा थियो । त्यसमा भरियाको ज्यालादर र खेतालाको मजदूरी दरसमेत तोकिएको थियो । २०२० साल भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐनमा ज्याला मजदूरी को छुट्टै महल राखी उक्त महलमा कसैले कसैलाई निजको मञ्जुरीबेगर कुनै काममा लगाउन वा गराउन निषेध गरिएको थियो ।
मुलुकी ऐन २०२० को यसै व्यवस्थालाई निरन्तरता दिँदै समयसापेक्ष रूपमा मुलुकी देवानी संहिता २०७४ को दफा ६४० देखि ६४७ सम्ममा केही कुरा थप र परिमार्जन गरी यससम्बन्धमा नयाँ व्यवस्था गरिएको छ ।

दफा ६४०. काममा लगाउन सकिने : (१) कम्तीमा १४ वर्ष उमेर पुगेको व्यक्तिलाई निजको मञ्जुरी लिई काममा लगाउन सकिनेछ तर १६ वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन सकिने छैन । (२) उपदफा (१) बमोजिम काममा लगाउँदा यस परिच्छेदको व्यवस्था पालना गर्नु वा गराउनुपर्ने छ । भन्दै १४ वर्ष उमेर पुगेको कुनै पनि व्यक्तिलाई निजको मञ्जुरी लिएर मात्र काममा लगाउन सकिने र १६ वर्ष पूरा नगरेका व्यक्तिलाई भने जोखिमपूर्ण व्यवसायमा वा काममा लगाउन नपाउने व्यवस्था गरिएको पाइन्छ ।

कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई काममा लगाउँदा काम गर्ने व्यक्तिले आफू खुशी ज्याला मजदूरीविना काम गर्न स्वीकार गरेकोमा बाहेक काम लगाउनेले काम गर्नेलाई कामको अनुपातमा ज्यालामजदूरी दिनुपर्छ । ज्यालामजदूरी दिँदा काम लगाउने र काम गर्ने व्यक्तिको स्वीकृतिले ज्याला तोकिएकोमा सोहीबमोजिम र नतोकेकोमा त्यो काम गरेबापत काम गरेको ठाउँमा चलेको चलनचल्तीमा रहेको दरअनुसार काम सम्पन्न भएपछि मात्र ज्याला दिनुपर्छ । काम लगाउने र काम गर्नेको बीच ज्यालाका सम्बन्धमा अन्य कुनै सहमति भएको भए सोही सहमतिबमोजिम गर्नुपर्छ । यससम्बन्धी व्यवस्था दफा ६४१ ले गरेको छ ।

कुनै पनि व्यक्तिलाई काममा लगाउँदा त्यस्तो कामको प्रकृतिअनुसार हुनसक्ने जोखिम वा खतरा निवारणका पर्याप्त सुरक्षात्मक उपायको व्यवस्था गरेर मात्र काममा लगाउनुपर्ने भन्ने व्यवस्था दफा ६४२ ले गरेको छ । कसैले कुनै व्यक्तिलाई काम लगाउँदा सामान्यतया १ दिनमा ८ घण्टाभन्दा बढी अवधिका लागि काममा लगाउन नपाइने, १ दिनमा ८ घण्टाभन्दा बढी कसैलाई काममा लगाउनुपरेमा काम गर्ने व्यक्तिको स्वीकृति लिनुपर्ने र त्यसरी काममा लगाउँदा ८ घण्टालाई १ दिन मानी बढी काम गरेको प्रत्येक घण्टाबापत सोही अनुपातमा थप ज्याला दिनुपर्ने व्यवस्था दफा ६४३ मा गरिएको छ । ८ घण्टा श्रम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको मान्यता रहेकाले कानूनमा यस्तो व्यवस्था गरिएको हो ।
घरेलु सहायकका बारेमा पनि संहिताले नयाँ व्यवस्था गरेको छ । घरेलु सहायकका रूपमा कुनै व्यक्तिले अन्य कसैलाई काममा लगाएमा, ज्याला मजदूरी मासिक या वार्षिक रूपमा कसरी दिने हो त्यो कुराको निर्धारण गरी सोहीअनुसार दिनुपर्ने, काम लगाउने व्यक्तिको क्षमताअनुसार बिहान, दिउँसो र बेलुकी गरी तीनपटक खाना र मौसमअनुसार लगाउने कपडा दिनुपर्ने, उपयुक्त आवास, शौचालय तथा स्नानघर प्रयोग गर्ने सुविधा दिनुपर्ने, १८ वर्षभन्दा कम उमेरको भए निजले चाहेमा घर व्यवहारको काम हेरी उपयुक्त समयमा अध्ययनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

बिरामी भएमा स्वस्थ्य उपचारको व्यवस्था गर्नुपर्ने तर त्यसबापतको खर्च निजको ज्यालामजदूरीबाट कट्टा गर्न नपाइने, बिरामी हुँदाका बखत काममा नलगाउने र अन्य अवस्थामा निजको उमेर क्षमता वा अवस्थाले गर्न नसक्ने काम नलगाउने, मृत्यु भएमा निजको सदगत तथा सामान्य काजकिरियाका लागि लाग्ने खर्च बेहोर्नुपर्ने व्यवस्था छ । अमानवीय, अपमानजन्य व्यवहार वा घरेलु हिंसा नगर्ने, कुनै उचित कारणविना आफूखुशी कामबाट नहटाउने, घरेलु सहायकसँग आफूले स्वीकृत गरेका अन्य शर्त पालना गर्नुपर्ने, कसैले कुनै व्यक्तिलाई घरेलु सहायकका रूपमा काम लगाएकोमा त्यसरी काममा लगाएको मितिले १ महीनाभित्र सम्बद्ध वडालाई लिखित जानकारी गराउनुपर्नेजस्ता शर्तहरू पालना गर्नुपर्ने व्यवस्था दफा ६४४ मा गरिएको छ । घरेलु सहायकले जुनसुकै बेला पनि काम गर्नुपर्ने हुँदा एकाघरकै सदस्यका रूपमा हेरी आठघण्टे नियय लागू नहुने व्यवस्था गरिएको छ ।

कुनै पनि व्यक्तिले कुनै काम गर्न जिम्मा लिई वा काम गर्ने कबुल गरिसकेपछि त्यस्तो काम गर्ने व्यक्तिले जिम्मा लिएको वा कबुल गरेको काम पूरा गर्नुपर्छ । काम गर्ने कबुल गरिसकेपछि उक्त काम गैरकानूनी र असम्भव नभएसम्म वा उचित कारणविना त्यस्तो काम पूरा नगरी बीचमै छोड्न हुँदैन । उचित कारणविना जिम्मा लिइएको वा कबुल गरेको काम पूरा नगरी बीचमै छोडेमा त्यसको दायित्व काम छोड्ने व्यक्तिले बेहोर्नुपर्ने व्यवस्था दफा ६४५ मा गरिएको छ । कुनै व्यक्तिले कसैलाई काम लगाएमा काम लगाएबापत दिनुपर्ने ज्यालामजदूरी काम गर्ने व्यक्तिलाई दिनुपर्ने, उक्त काम गर्ने व्यक्तिले त्यस्तो ज्याला अरू कुनै व्यक्तिलाई दिए हुन्छ भनी स्वीकृति दिएको भए त्यस्तो मञ्जुरी पाउने व्यक्तिलाई दिनुपर्ने, ज्यालामजदूरीमा लगाएको व्यक्तिको ज्यालामजदूरी लिनु अघि नै मृत्यु भएमा निजले पाउने ज्याला निजको नजिकको हकवालाले पाउने व्यवस्था दफा ६४६ ले गरेको छ । यसरी परम्परागत रूपमा चलिआएको ज्याला मजदूरीसम्बन्धी व्यवस्थालाई वर्तमान संहिताले परिमार्जित रूपमा स्पष्ट व्यवस्था गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published.