पत्रकार, किसान र कृषिका मुद्धा

विचार / अन्तर्वार्ता
2.6kViews

पी.साइनाथ

मैले मेरो पेसाको थालनी सन् १९८० को दशकमा गरेको हो । तपाईंहरूलाई त्यसबेलाको अनुभव सुनाऊँ, त्यतिबेला हरेक राम्रा भनिएका पत्रिकाहरूमा मजदूर र कृषि सम्वाददाता हुन्थे । तर हिजो–आज समय फेरिएको छ । आज पत्रिकाहरूमा कृषि सम्वाददाता नै हुँदैनन् । यदि झुक्किएर भै पनि हाले भने उनीहरूले कृषि, किसान र त्यहाँ काम गर्ने कृषि मजदूरको समाचार बनाउन होइन कि कृषि मन्त्रीले के बोल्छन् भनेर त्यसलाई कभर गर्न खटिएका हुन्छन् । दुःखको कुरा भनौँ उनीहरू कहिलै आफ्नो वास्तविक कार्यक्षेत्रमा जाँदैनन् । उनीहरू कहिलै कृषि मण्डी जाँदैनन् । मन्त्रालयबाट आएको प्रेस विज्ञप्ति अथवा ठूला कर्पोरेट हाउसहरूबाट आएको विज्ञप्तिको समाचार लेखेर नै उनीहरूले जागिर धानिरहेका हुन्छन् । पत्रिकाहरूले पनि अरू समाचार छाप्नेभन्दा त्यही विज्ञप्तिको समाचार छापेर कृषि समाचार भनेर पत्रिकाका पाना भरिरहेका हुन्छन् । आज पत्रिकाहरूमा मजदूर, कृषि र रोजगार बिट हेर्ने पत्रकारहरू पाउनै गारो छ ।

त्यसो त उनीहरूको पत्रकारहरूबीच कुनै ‘डेजिग्नेसन’ नै छैन । अहिले कसैले पनि यी विषयलाई समाचारपत्र, टेलिभिजन, रेडियोमा दिन चाहँदैनन् । तर विजनस, कर्पोरेट कभर गर्न भने हरेक पत्रिकाहरूमा ८ देखि १० जना पत्रकार खटिएका हुन्छन् । मुम्बई जस्तो ठाउँमा त कम्तीमा पनि एक दर्जन पत्रकारहरू विजनेसको विभिन्न शिर्षकमा खटिएका हुन्छन् । उनीहरूको काम नै ‘कर्पोरेट विजनस म्यान’, ‘कर्पोरेट विजनस हाउस’लाई कभर गर्नु हो । मेरो भनाई के हो भने यदि हामीले कुनै पनि पत्रिका, टेलिभिजनमा मजदूर, कृषि र रोजगार बिट हेर्ने सम्वाददाता राख्दैनौँ भने हामीले देशको कुल जनसङ्ख्याको ७५ प्रतिशतको समाचार नै बनाइ रहेका छैनौँ । हामीले मजदूर, कृषि र रोजगार बिटमा सम्वाददाता नराख्नुको अर्थ हो हामीलाई उनीहरूमा समाचार नै देखिँदैन । त्यसैले हामीले उनीहरूको समाचार बनाउँदैनौँ ।

यही पत्रपत्रिका, टेलिभिजनको आधिकारिक धारणा हो । यसो भन्नुको सोझो अर्थ हो मलाई यो देशको ७५ प्रतिशत जनताप्रति कुनै स्वाद छैन । जब २–३ हजार मान्छे मर्छन् अनि समाचार लेखौँला नि । आज हाम्रो देशको पत्रकारिताको मूल चरित्र यही हो र यही भइरहेको छ । यहाँ ध्यान दिनुपर्ने एउटा कुरा के छ भने मैले उठाएका ती बिटहरूमा पत्रकारहरूले काम गर्न छोडेदेखि सम्बन्धित क्षेत्रमा हुनुपर्ने विशेषज्ञता पनि अन्त्य हुँदै गइरहेको छ ।

मलाई धेरैजसो पत्रकार साथीहरूले फोन गरिराख्नु हुन्छ । उहाँहरूले के भन्नु हुन्छ भने– मलाई एउटा ‘असाइमेन्ट’ दिएर कोलापुरको चप्पल कारखाना पठाइएको छ तपाईंले त्यसबारे केही बताइ दिनुस्न । त्यसपछि मसँग उहाँहरू ४, ५ मिनट कुरा गर्नु हुन्छ अनि साँझ यसो हेर्दा त्यही रिपोर्ट टेलिभिजन र बिहानपख पत्रिकाहरूमा प्रकाशित भइरहेको हुन्छ । यो सही होइन । ७५ प्रतिशत जनता यसबाट पीडित छन् । तर पाँच वर्ष यताको तथ्याङ्ले पत्रिकाको पहिलो पृष्ठमा ०.६७ प्रतिशत समाचार यस विषयमा छापिएको देखाउँछ ।

त्यसैगरी टेलिभिजनको प्राइम टाइममा ०.८२ प्रतिशत समाचार र स्टोरीहरू प्रसारित हुने गरेका छन् । सम्पादकहरूलाई थाहा हुनुपर्छ कि उनीहरूको पत्रिकाको पहिलो पृष्ठमा भारतको ग्रामीण क्षेत्रको समाचार जम्मा ०.६७ प्रतिशत मात्र अटाउने गरेको छ । सही तथ्याङ्क हो । यही वास्तविकता हो । मैले कुनै पत्रकार, सम्पादकलाई आरोप लगाएको होइन । यही हाम्रो वास्तविकता हो भनेर देखाएको मात्र हो । यदि कुनै पनि विषयमा त्यहाँको सम्पादक, पत्रकार अथवा म्यानेजमेन्टलाई रुचि र चासो नै छैन भने त्यो क्षेत्रबाट विशेषज्ञताको आशा गर्नु बेकार हुन जान्छ । तपाईंले काम नै नगर्दासम्म तपाईंमा त्यसको बृहद ज्ञान कसरी हुन्छ ? अहिले किसानहरूको कुनै पत्रिकाले स्टोरी गर्ने गरी कभर गरे भने कुनै स्पोर्टस्को कभर गरेझैँ नितान्त एउटा किसानलाई भगवानलाई गुहारेझैँ गर्न लगाएर फोटोसेसन गर्छन् र स्टोरी फाइल गर्छन् ।

यसले किसानहरूको समस्या, व्यथा, परिस्थिति र अवस्थितिका बारे केही बुझ्दैन, त्यस्ताले किसानको स्टोरी कभर गर्नु भनेको ‘स्टेज फोटोग्राफी’ गर्नुभन्दा केही फरक होइन । यस्तो फोटोग्राफी, स्टोरी कभर किसनाहरूको आत्मसम्मानको दृष्टिकोणमा निकै भद्दा मजाक हो । यस्तो गर्दैगर्दा एउटा पत्रकारले
किसानको आत्मसम्मानमा ठूलो चोट पु¥याइरहेको हुन्छ । किसान कुनै वस्तु होइन, जसलाई एउटा पत्रकारले बारम्बार हेपी रहोस् । जसले यी सबै गरिरहेका हुन्छन्, उनीहरूलाई यति पनि थाहा हुँदैन कि भारतमा किसानहरूको वास्तविक जनसङ्ख्या कति छ । अरूको त के कुरा भारतको नीति आयोगमा बसेका ठूला मान्छे अरविन्द पानागरियालाई समेत थाहा छैन कि भारतमा किसानहरूको सङ्ख्या कति छ ।

उनले र जगदीश भगवतीले लेखेको किताब ‘ह्वाई ग्रोथ म्याटर्स’मा उनीहरूले किसानहरूको आत्महत्या एउटा मजाक हो भने । किनभने भारतको कुल जनसङ्ख्याको कुल ५३ प्रतिशतकिसानमा यो दरमा आत्महत्या हुनु भनेको आम र सामान्य कुरा हो । यति लेख्दै गर्दा उनीहरूले कि त भारतको राष्ट्रिय जनगणनाको तथ्याङ्क हेरेनन् कि उनीहरूलाई त्यसबारे ज्ञान नै छैन । त्यसपछि मैले उनीहरूलाई जवाफ दिँदै यो कुरा गलत हो भने । भारतमा ५३ प्रतिशत किसानहरू छन् भन्ने कुरा गलत हो । भारतमा कृषिको बृहद् क्षेत्रमा ५३ प्रतिशत मानिसहरू जोडिएका त छन् तर उनीहरू सबै कृषक होइनन् । किनभने भारतको कृषि क्षेत्रमा फरेस्ट्री, फिसरी, पशुपालन जस्ता कयौँ क्षेत्र यसभित्र आउँछ । त्यसैले यो सबै क्षेत्रमा भएको जनसङ्ख्यालाई हामीले कृषक भन्न मिल्दैन । यसलाई बुझाउन म दुईवटा उदाहरण दिन्छु । जस्तै भारतको बलिउड रोजगारीका लागि ठूलो उद्योग हो । तर बलिउडमा हुने सबै कलाकार होइनन् ।

ती सबै कलाकारमध्ये पनि सबै नायक होइनन् । त्यहाँ क्यामेरा, लाइट, अरेन्ज, डिस्टिब्युटर हुँदै चिया पकाउने पनि हुन्छ तर ती न कलाकार हुन न हिरो । त्यसैले कलाकार, र नायकको सङ्ख्या त्यो पूरै सिनेमा उद्योगमा निकै झिनो छ । त्यस्तै शिक्षा क्षेत्र पनि निकै ठूलो क्षेत्र हो । के त्यस क्षेत्रमा हुने सबै विद्यार्थी मात्र हुन् ? त्यो पूरै क्षेत्रमा विद्यार्थी त्यसको एउटा भाग मात्र हो । त्यस्तै त्यहाँ कर्मचारी, शिक्षक, अभिभावक, शिक्षाका लगानीकर्तालगायत अरू पनि त्यस क्षेत्रका एउटा–एउटा भाग हुन् । त्यसैगरी कृषि क्षेत्रमा सक्रिय सबै किसान होइनन् । भनेपछि भारतमा किसानको हो त ? र उनीहरू कति प्रतिशत छन् ? किसानको ५३ अथवा १० प्रतिशत भएमा त्यसले के फरक पर्छ ? म यसबारे केही बोल्न चाहन्छु । किनभने भारतमा यस यहाँ अर्को महत्वपूर्ण कुरा के हो भने भारतमा किसानहरूको सङ्ख्या ह्वात्तै घट्दैछ ।

यहाँ हामीले ध्यान दिनुपर्ने मुख्य दुई कुरा छ । मजदूरमा दुई तह हुन्छ । मुख्य मजदूर र सीमान्तकृत मजदूर । मुख्य मजदूर भनेको त्यही हो, जसले एउटै पेसामा अथवा एउटै क्षेत्रमा वर्षको कुल१८० दिन काम गर्छ । तर सीमान्तकृत मजदूर त्यो हो, जो आफ्नो क्षेत्रमा अथवा एउटै काममा वर्षको १८० दिन पनि टिक्न सक्दैन । उसले रोजगारीका विभिन्न विकल्पहरूको खोजी गरिरहन्छ । मैले १८० किन भनेको भने यदि हामीले एउटा सामान्य समयसिमा राखेनौँ भने हरेक कर्पोरेट हाउसको ठूलो मान्छे हप्ताको शनिबार र आइतबार नासिक गएर अलिकति माटो खेलाउँछ र म किसान हुँ भन्छ । हाम्रो जस्तो देशमा सरकारी अधिकारीहरूलाई कागजपत्र देखाएर अमिताभ बच्चन किसान हुन सक्छ भने एउटा कर्पोरेट हाउसको सीईओ किसान हुँ भन्न कुनै बेर लाग्दैन । तपाईंहरूलाई थाहा छ नि अमिताभ बच्चनले उत्तर प्रदेशको बारबन्कीमा मेरो कृषि जमिन छ भनेर मैले महाराष्ट्रमा पनि कृषि जमिन किन्न पाउँछु भनेर प्रमाण पेश गरे ।

जुन देशमा अमिताभ बच्चनलले आफू किसान भएको प्रमाणपत्र देखाउन सक्छ, त्यहाँ वास्तविक किसान को हो भनेर त्यसको सही परिभाषा निर्माण गर्नुपर्ने हुन्छ । यो कुरा किसानहरूको हितमा छ भनेर मात्र होइन । मुख्य मजदूर र सीमान्तीकृत मजदूरको सङ्ख्या छुट्याउन पनि यो गर्नुपर्नेछ । एउटै क्षेत्रमा अथवा काममा १८० दिनभन्दा कम काम गर्नेलाई ‘मार्जिनल कल्टिबेटर’ र १८० भन्दा बढी काम गर्नेलाई ‘मेन कल्टिवेटर’ भन्नुपर्ने छ । म यो कुरा निकै सजिलो गरी भनिरहेको छु । किनभने मिडियाका साथीहरूले तथा आम मानिसले पनि यो कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ । १८० दिनलाई आधार मानेर हेर्ने हो भने भारतमा किसानको सङ्ख्या ८ प्रतिशतभन्दा पनि कम छ । सन् २०११ को जनगणनामा ९ करोड ८० लाख (९८ मिलियन) मान्छे सीमान्तकृत किसानको सूचीमा पर्छन्, जुन १० प्रतिशतभन्दा पनि कम हुन आउँछ ।

खेतमा काम गर्ने खेतिहर मजदुर, सीमान्तकृत मजदुरसहित सबै क्षेत्रमा रहेका किसानहरूलाई जोडेर हेर्ने हो भने पनि यो सङ्ख्या २४ प्रतिशतभन्दा थोरै हुन आउँछ । तर पानागरिया र जगदीश भगवती भने देशमा ५३ प्रतिशत किसान छन् भन्छन् । मैले अघि माथि तपाईंहरूलाई सङ्केत गरेको थिएँ । तपाईंहरूले कत्तिको ध्यान दिनुभयो, भारतमा किसानहरूको सङ्ख्या निकै डरलाग्दो तरिकाले तल झरिरहेको छ । सन् १९९१, २००१ र २०११ को जनसङ्ख्याको तथ्याङ्क हेर्नुभयो भने तपाईंहरूले किसानको घट्दै गरेको सङ्ख्या कति डरलाग्दो छ भन्ने थाहा पाउनुहुन्छ । सन् १९९१–२००१ सम्मको दश वर्षमा ‘मेन कल्टिभेटर’ किसानको सङ्ख्या ७२ लाखले तल झरेको छ भने २००१–०११ सम्ममा ७७ लाख किसानले आफ्नो पुरानो पेसा छोडेका छन् ।

यसको अर्थ २० वर्षमा ढेड सय लाख किसानहरूले आफ्नो कृषि पेसा छोडेका छन् । यसको अर्थ प्रत्येक दिन झण्डै २ हजार किसान देशले गुमाइरहेको छ । तपाईंलाई लाग्न सक्छ, यतिका किसानले आफ्नो कृषि पेसा छोडेर कहाँ जाँदैछन् त ? पहिलो त उनीहरू बसाइसराई गर्दैछन् । अर्को कुरा तपाईंले त्यही जनगणनामा खुट्याउन सक्नुहुन्छ किसानको सङ्ख्या घट्दै छ तर खेती मजदूरको सङ्ख्या निकै नै वृद्धि भइरहेको छ । यसको सीधा अर्थ के हो भने लाखौँ किसानको भूमि र खेती चौपट भयो र ऊ वास्तविक किसानबाट खेती मजदूरमा परिणत भयो ।

मेरो आफ्नो आन्ध्र प्रदेशमा (त्यतिबेला आन्ध्र र तेलङगाना छुट्एिको थिएन) २००१–२०११ सम्म किसानहरूको जनसङ्ख्या १३ लाखले घट्यो भने खेती मजदूरको जनसङ्ख्या ३६ लाखले बढ्यो । यसको सोझो अर्थ ग्रामीण क्षेत्रहरूमा किसानहरू मात्र सरकारी नीतिको शिकार भएका छैनन् कि अरू पनि धेरै यस्ता मान्छेहरू छन् । जो आफ्नो पुस्तैनी पेसा छाड्न बाध्य छन् ।

तपाईंहरूले किसानहरूले आत्महत्या गरेका बारेमा पढ्नु भएको छ । तर ग्रामीण क्षेत्रका डकर्मी, सिकर्मीहरू भोकले मारिँदै गरेको पढ्नुभएको छैन होला । भारतका ग्रामीण क्षेत्रहरूमा डकर्मी, सिकर्मीको भोकका कारण मृत्युको सङ्ख्या अपत्यारिलो ढङ्गले बढीरहेको छ । यसको सम्बन्ध पनि किसानहरूको आत्महत्या, किसानहरूको कृषिबाट विस्थापनलगायतका कारणसँग जोडिएको छ । किसान भने बैङ्कको ऋण चुक्ता गर्न नसकेर आत्महत्या गर्दैछ । ऊ कृषि पेसामा टाट पल्टिने अवस्थाले पलायन हुँदैछ । तर को मोटाउँदैछन त ? यो प्रश्नको जवाफ सरकारमा बसेका कसैले पनि दिन खोज्दैनन् । वास्तविकता यही हो ।

(पी साइनाथ भारतका वरिष्ठ पत्रकार तथा ग्रामिण क्षेत्रमा किसानहरूको आत्महत्या बारे लेख्ने पत्रकार हुन् । यो हामीले भूमि अधिकार बुलेटिनको अंक २७ मा रहेको किसान को हो ? शिर्षकमा छापिएको लेखबाट साभार गरेका हौं)

Leave a Reply

Your email address will not be published.