डा. केदार बुढाथोकी विरुद्धको मुद्धाले हलचल

Banner 1 बागमती प्रदेश स्थानीय तह
6.9kViews

काठमाण्डौ : चर्चित गोलभेंडा विज्ञ डा. केदार बुढाथोकी संलग्न रहेको व्यापारिक कम्पनीहरु विरुद्ध प्लाण्ट क्वारेण्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अदालतमा मुद्धा दायर गरेपछि कृषि क्षेत्रमा हलचल मच्चिएको छ । कतिपयले डा. बुढाथोकीको नियतमाथि नै शंका गरिरहेका छन् भने कतिपयले उनलाई फसाइएको बताइरहेका छन् ।

डा.बुढाथोकी मुछिएको र विषादी व्यवस्थापन ऐन २०७६ जारी भएपछि अदालतमा दायर भएको पहिलो मुद्धा भएकोले पनि यो घटनालाई कृषि क्षेत्रमा चासोको रुपमा हेरिएको छ । यो घटनामा अदालतको फैसलाले नजिर स्थापित गर्ने भएकोले भविश्यमा त्यसले नेपालमा विषादीको प्रयोग र दुरुपयोगको घटनालाई कसरी नियन्त्रण गर्नेछ भन्ने स्पष्ट हुनेछ ।
घटना के हो ?

फागुन २९ गते पोखराको एक पसलबाट केन्द्रका अधिकारीहरुले १८ केजी प्रतिवन्धित विषादी कार्बाेफ्युरान जफत गरे । गिता अधिकारीको नाममा रहेको उक्त पसलले भैरहवाको भोलेनाथ बीउ भण्डार र ललितपुरमा रहेको बुढाथोकी एग्रो (नख्खु सीड्स) बाट खरिद गरेको जानकारी दिएपछि लगत्तै ती पसलहरुमा छापा मार्दा त्यहांबाट पनि ती विषादी जफ्त गरियो ।

बुढाथोकी एग्रो डा. केदार बुढाथोकीका भतिजा प्रकाश बुढाथोकीले संचालन गर्छन् । तर, त्यसको मुख्य मालिक भने डा. बुढाथोकी नै रहेको बताइएको छ ।त्यहीकारण नख्खु सिड्स वा बुढाथोकी एग्रोबाट उत्पादन तथा प्याकेजिङ गरिएका अधिकांश प्रडक्ट डा. बुढाथोकीको नाम र तस्विर राख्ने गरिएको छ । त्यहीकारण यो प्रकरणमा डा. बुढाथोकी प्रत्यक्षरुपमा मुछिनु भएको हो ।

सरकारी अधिकारीहरु डा.बुढाथोकीको जानकारी विना नख्खु सिड्सले प्रतिवन्धित विषादीको कारोबार गरेको होला भनेर आफूहरुलाई पत्याउन मुस्किल परिरहेको बताउंछन् । ‘उहां जस्तो कृषि क्षेत्रकै आदर्श व्यक्तित्वको पसलबाटै गैरकानुनी विषादीको कारोबार हुन्छ भने अरु व्यापारीहरुबाट के भैरहेको होला ? त्यसैले यो अति नै गंभिर घटना हो’ केन्द्रका एक अधिकारीले इएग्रोन्यूजसंग भने । उनका अनुसार यो घटनालाई केन्द्रले कति परिमाणमा विषादी समातियो भन्दा पनि को व्यक्ति संलग्न रहेको छ र कहां कहां प्रतिवन्धित विषादीको जालो फैलिएको छ भन्ने आधारमा निकै गंभिरतापूर्वक लिएको छ ।

‘सिमावर्ती क्षेत्रमा भेटिएको भए लुकिछिपी भारतबाट ल्याइएको होला भन्ने हुन्थ्यो, यहां त प्रतिष्ठित व्यक्तिका कम्पनीहरुले नै योजनावद्धरुपमा मानव शरिरलाई गंभिर हानी पुग्ने प्रतिवन्धत विषादीको कारोवार गरेको देखियो । यो सामान्य होइन, निकै असमान्य र गंभीर अपराध हो भनेर हामीले अदालतमा मुद्धा दायर गरेका हौं’ उनको भनाई छ । उनका अनुसार पोखराकि गिता अधिकारीको नाममा रहेको पसलमा त अधिकारीले आफूले पसल संचालन नगरि आफूले प्राप्त गरेको विषादीजन्य सामाग्रि विक्री गर्न पाउने लाइसेन्स अरुलाई विक्री गरेको भेटिएको छ । विषादी विक्री गर्न पाउने सर्टिफिकेट समेत विक्री गरिनु थप अपराध भएको सरकारी अधिकारीहरुको भनाइ छ ।

ललितपुर जिल्ला अदालतमा दायर गरिएको मुद्धामा उल्लेखित व्यक्तिहरुलाई जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ को दफा ३३ को खण्ड बमोजिम कारवाहीको माग गरिएको छ । त्यो अनुसार प्रतिवन्धित जीवनाशक विषादीको उत्पादन, संष्लेषण, निकासी पैठारी, व्यवसायिक प्रयोग, भण्डारण विक्री वितरण, ओसार पसार, प्याकिङ, पुन प्याकिङ वा विर्सजन सम्वन्धि प्रचलित मापदण्ड विपरित कार्य गरे गराएमा पचास हजारदेखि २ लाख रुपैंया जरिवाना र एक महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published.