नेपियर घाँस खेती प्रविधि के हो ?

कृषि बन
2.9kViews

हात्तीघाँस–१, नेपियर घाँस, उखु जस्तो देखिने एक वहुवर्षीय घाँस हो । एकपटक लगाएपछि ४–५ वर्षसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ । अरू घाँसको दाँजोमा बढी हरियो घाँसको उब्जा यस घाँसबाट पाइन्छ र पहिलो वर्षमा लाग्ने उत्पादन खर्चबाहेक पछि उत्पादन लागत अति कम हुन्छ । यो उष्ण तथा समोष्ण जलवायुमा हुने घाँस हो । यसले ठण्डा र तुसारो सहन गर्न सक्दैन तर केही सुख्खा सहन सक्छ । तराई तथा मध्य–पहाडी क्षेत्रका गरम हावापानी भएको क्षेत्रमा यिनीहरूले बाह्रै महिना हरियो घाँसको उब्जा दिन्छन् ।

धेरै चिसो हुने उच्च–पहाडी क्षेत्रमा शरद ऋतु लागेपछि करिब तीन महिनासम्म यिनीहरू प्रायः सुषुप्त अवस्थामा रहन्छन् । हात्तीघाँस–१ नेपियरलाई काउपी,ग्लाइसिन जस्ता अन्यघाँसहरूसँग मिसाएर खेती गर्न सकिन्छ । पौष्टिकताका दृष्टिकोणले यो घाँस केही कमसल खालको हुनुका साथै छिप्पिएमा यसको डाँठ ज्यादै कडा हुने गर्छ । साधारणतया नेपियर घाँसमा ८– १० प्रतिशत क्रुड प्रोटिन पाईन्छ ।

जातीय गुणहरू

हात्तीघाँस–१ धेरै ठुलो ।याङ हुने बहुवर्षीय र दह्रो जरा प्रणाली हुने उखुजस्तो देखिने घाँस हो । यसको स्टोलनबाट नयाँ बिरुवाहरू निस्कन्छन् र एउटा गाँजमा २०–३० वटा बिरुवाहरू हुन्छन् । बिरुवाहरू २–३ मिटरसम्म अग्ला हुन्छन् । पातको लम्बाई ३०–१२० सेन्टिमिटर हुन्छ भने चौडाइ १–५ सेन्टिमिटर हुन्छ । बिरुवाको टुप्पाबाट फूलको झुप्पा निस्कन्छ । झुप्पा करिब ३० सेन्टिमिटर लामो हुन्छ र केही सेतो क्रिम रङको हुन्छ । त्यसमा अति मसिनो भुवा जस्तो बिउ लाग्छ । एउटा फूलको झुप्पाबाट ३० वटासम्म बिउ पाइन्छ । बिउमा उमार शक्ति कम भएकाले
यसको टुक्रा सारेर वानस्पतिक प्रसारण गर्ने गरिन्छ ।

हावापानी र माटो

हात्तीघाँस–१ नेपियर उष्ण जलवायु मन पराउने घाँसेबाली हो । यसलाई तराई तथा मध्य–पहाडी क्षेत्रमा लगाउन सकिन्छ । यसले तुसारो खप्न सक्दैन । ज्यादै चिसो भएमा यसका पातहरू पहेंलिएर मर्छन् तर बिरुवा बाँचेकै हुन्छ । यसलाई सबै प्रकारको माटोमा लगाउन सकिन्छ तर पानीको राम्रो निकास भएको मलिलो दोमट माटो यसको लागि राम्रो मानिन्छ । यसलाई ५–८ पीएच (pH)माटामा लगाउन सकिन्छ ।

जमिनको तयारी

माटालाई गहिरो गरी खनजोत गरेर प्रशस्त मल राखेर जग्गा तयार गर्नुपर्छ । हात्तीघाँस १ लाई प्रशस्त मात्रामा मल चाहिन्छ । खेत तयारी गर्ने समयमा १० टन कम्पोस्ट मल प्रतिहेक्टरका दरले खेतमा राख्नुपर्छ । थप प्रतिहेक्टर ८० के.जी. नाइट्रोजन, ४० के.जी. फस्फोरस र ३० के.जी. पोटास खेतमा राख्न सकेमा बढी हरियो घाँसको उब्जा पाउन सकिन्छ र हरियो घाँस काटिसकेपछि नाइट्रोजन प्रतिहेक्टर २० किलोको दरले टपड्रेसिङ गरिदिनुपर्छ ।

लगाउने समय

सिँचाइको सुविधा भएमा नेपियरलाई वर्षैभरि रोप्न सकिन्छ तापनि साधारणतया फागुनदेखि लगाउन सकिन्छ । आकाशे पानीको भरमा खेती गर्दा जेठ, असारसम्म रोप्न सकिन्छ ।

बिउको मात्रा

हात्तीघाँस–१ को प्रजनन उखु जस्तै आँख्ला भएको डाँठ रोपेर गरिन्छ । प्रजननका लागि नेपियरलाई स–साना टुक्रामा काट्नुपर्छ । यस्ता टुक्रालाई सेट्स (Sets) भनिन्छ । एउटा सेट्मा कम्तीमा तीन वटासम्म स्वस्थ्य आँख्ला हुनुपर्छ । सेट्लाई राम्ररी खनजोत गरी तयार पारेको जग्गामा एक लाइनदेखि अर्को लाईन १ मिटर र एक बिरुवादेखि अर्को बिरुवा ५० से.मी. को फरक पारी रोपिन्छ । सेट् रोप्दा ४५ डिग्रीको कोण बनाई एउटा आँख्ला माटोको सतहदेखि माथि नै रहने गरी माटोमा करिब ५ सेन्टिमिटर गहिरो हुने गरी रोप्नुपर्छ । एक हेक्टर जग्गाका लागि करिब १०,००० (१.५– २.० टन) वटा सेट्सको आवश्यकता पर्छ ।

सिँचाइ

हात्तीघाँस–१ रोपेको केही दिनपछि (एक हप्ताभित्र) टुसा पलाउने अवस्थामा सिंचाइ गरेमा बिरुवा राम्ररी उम्रन सक्छ । सिँचाइको सुविधा भए माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिएमा बढी उब्जा लिन सकिन्छ । यसले स्थानीय तथा अन्य घाँसहरूलाई ढाकेर बढ्न दिँदैन तापनि सुरुको अवस्थामा अनावश्यक झारपातहरू गोडमेल गरेर हटाइ दिनुपर्छ ।

उत्पादन

बिरुवा रोपेको करिव तीन महिनापछि पहिलो पटक कटाई गर्न सकिन्छ । घाँस काट्दा जमिनबाट करिब १५ से.मि. लामो ठुटा रहने गरी काट्नुपर्दछ । पहिलो कटाई लिएको ४०–५० दिनपछि अर्को कटाइ लिन सकिन्छ । यसबाट वर्षमा ७–८ पटकसम्म हरियो घाँस लिन सकिन्छ । यसरी वर्षमा कुल १०० देखि १५० टन प्रतिहेक्टर हरियो घाँसको उब्जा पाउन सकिन्छ । नेपियरको बिउ उत्पादनद्वारा प्रसारण त्यति लोकप्रिय छैन त्यसैले वानस्पतिक विधिबाट नै नेपियर लगाइन्छ ।

स्रोतः राष्ट्रिय कृषि प्रविधि सुचना केद्र, नार्क

Leave a Reply

Your email address will not be published.