बिहीबार २६ औँ राष्ट्रिय चिया दिवस मनाइँदै

अर्थ बजार
4.0kViews

काठमाडौँ : आज २६ औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज विभिन्न कार्यक्रम आयोजना गर्दै ‘राष्ट्रिय चिया दिवस’ मनाउन लागेको हो । ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २६ औँ राष्ट्रिय चिया दिवस मनाउन लागिएको छ ।

चिया दिवसको मूल समारोहसँगै चिया क्षेत्रको नीतिहरू केन्द्रित कार्यपत्र प्रस्तुति तथा छलफल, नेपाली चियाको प्रदर्शनी, टी टेस्टीङग लगायतका कार्यक्रम रहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपालले भारत लगायत अन्य तेस्रो मुलुकहरूमा चिया निर्यात गर्दै आएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९ सय १७ हेक्टरमा चिया खेती हुँदै आएको छ ।

त्यसबाट २३७४५ मे. टन चिया उत्पादन गरिएको छ। हाल १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरू चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन्।

चालू आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ अर्थात् ११९२० मेट्रिक टन चिया निर्यात भएको जनाएको छ । गत वर्ष २ अर्ब ७८ करोड रुपैयाँ अर्थात् १११८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।

विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार रहेको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवम् विकासका थुप्रै चुनौती रहेको पनि चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले जानकारी दिए ।

नेपाली चिया ९० प्रतिशत भन्दा बढी भारत निर्यात हुन्छ । तर प्रत्येक वर्ष विभिन्न बहानामा निर्यात रोक्दै आएको छ । ‘नेपाली चिया उच्च गुणस्तरको हुँदाहुँदै पनि अति नै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमता अनुसार नाफामूलक बन्न सकिरहेको छैन’ उनले भने,‘उत्पादन सुरु भएको डेढ सय वर्ष नाघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधि सम्बन्धी विषयमा आवश्यक अनुसन्धानात्मक कार्यहरू भएका छैनन् । यो दुखको कुरा हो ।’

त्यस्तै चिया क्षेत्रहरूमा आवश्यक बिजुली तथा सिँचाइ पूर्वाधारको अभाव, भन्सार नाकाहरूमा निर्यात प्रवर्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिन सक्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित श्रोत साधन लगायत अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋण लगायतका सुविधाहरूबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको उनको भनाई छ । बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प नरहेको पनि उनको भनाई छ ।

नेपालका छिमेकी मुलुकहरू भारत, श्रीलङ्का लगायतका राष्ट्रहरूले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् र नेपालले पनि आम उपभोक्ताको माग अनुसार सङ्ख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिन अति जरुरी देखिन्छ ।

नेपालमै पनि चियाको आन्तरिक खपत अति नै न्यून रहेकाले आन्तरिक बजार प्रवर्धन गरी खुल्ला बजार नीति अनुरूप दीर्घकालीन समस्या समाधानको लागि चीन,रुस, इरु, अमेरिका लगायतका मुलुकहरूसँग जिटुजी सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगहरू मार्फत नेपाली चियाको ब्राण्ड प्रवर्द्धन गर्नुपर्ने उनको भनाई छ । जसले गर्दा वार्षिक करिब १० अर्बको निर्यात मूल्य बनाउन सकिने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published.