अहिले आफ्नै व्यवसायमा रम्दैछिन् कोइली

किसान का कथा पोल्ट्री
2.9kViews

तुलसीपुर : राप्ती गाउँपालिका–५ लठ्ठवाका कोइली कुमारी चौधरीलाई कुनै समय मालिक कहाँ मजदुरी गर्नुपथ्र्याे ।

पाँच वर्ष घर तथा भवन निर्माणमा ‘लेबर’ काम गरेपछि आफैँ मिस्त्रीको काम सिक्नुभयो । सात वर्ष मिस्त्री भएर काम गरेपछि उहाँलाई आफैँले व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो र कुखुरा फार्म सञ्चालन गर्नुभयो । चौधरीले विसं २०७४ देखि ब्रोइलर कुखुरा फार्म सञ्चालन गर्नुभएको हो । सिसहनियास्थित लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शाखाबाट ऋण लिएर उहाँले फार्म सञ्चालन गर्नुभयो ।

“सुरुमा रु तीन लाख ऋण लिएर मैले व्यवसाय सुरु गरे”, उहाँले भन्नुभयो, “त्यसपछि विस्तारै–विस्तारै बढाउँदै लगेकी हुँ ।” कुखुरापालनबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले यसलाई निरन्तरता दिनुभयो । उहाँले कुखुरापालनबाट मात्रै मासिक रु ६० हजार आम्दानी हुने गरेको बताउनुभयो । “आम्दानी पनि राम्रो हुन थाल्यो, आफ्नै व्यवसाय गर्दा मान, प्रतिष्ठा, इज्जत पनि भयो”, उहाँले भन्नुभयो ।

उहाँले कुखुरापालनका लागि दुई वटा खोर निर्माण गर्नुभएको छ । एउटामा ६५० र अर्कोमा ७०० कुखुरा अटाउँछन् । रु एक लाखको हाराहारीमा उक्त कुखुरापालन सुरु गरेको चौधरीले बताउनुभयो । मिस्त्री पेशाबाट अवकास लिएर कुखुरापालन सुरु गर्दा उहाँमा अनुभव थिएन । अनुभव नहुँदा सुरुसुरुमा केही समस्या हुने गरेको भए पनि अहिले भने सहज भएको उहाँले बताउनुभयो । सुभम पोल्र्टी फार्ममार्फत उहाँले व्यवसाय गर्नुभएको हो ।

कुखुरापालनबाट आम्दानी बढेपछि उहाँले अन्य दुईवटा व्यवसाय पनि थप गर्नुभयो । लक्ष्मी बैंकबाटै पछिल्लो पटक १५ प्रतिशत ब्याजदरमा रु पाँच लाख ऋण लिएर उहाँले माछापालन र बङ्गुर पालन पनि सुरु गर्नुभयो । अहिले उहाँका दुईवटा पोखरीमा तीन हजार जति माछा छन् । नैनी, राहु, सिलभस, विघेटलगायत माछापालन गरेकी उहाँले मासिक रु ३०÷३५ हजार आम्दानी गर्ने गर्नुभएको छ ।

“माछापालन गर्नका लागि लगानी पनि धेरै लागेको छैन । मात्रै २७ हजार लगानी लगाएर माछापालन सुरु गरेको छु”, उहाँले भन्नुभयो, “व्यवसाय गर्ने इच्छा हुनुप¥यो, धेरै लगानी पनि चाहिदैन ।” उहाँको बङ्गुर फार्म पनि छ । बङ्गुरबाट भने उल्लेख्य रुपमा आम्दानी लिन नसकेको उहाँको भनाइ छ । पटकपटक हुने मूल्य ह्रासले गर्दा उल्लेख्य रुपमा आम्दानी गर्न नसकेपनि आफू यो व्यवसायबाट सन्तुष्ट रहेको पनि उहाँले बताउनुभयो । “मैले तीन वटै व्यवसायसँगै गरेकोे छु, एउटाबाट नाफा नभए, अर्कोबाट हुन्छ”, उहाँले भन्नुभयो, “यी व्यवसाय एकअर्कालाई सहयोग गरेका छन् ।”

रु १० हजार लगानी गरेर बङ्गुर खोर बनाउनुभएका उहाँको फार्ममा अहिले साना ठूला गरी १७ वटा बङ्गुर पालन भइरहेको चौधरीले बताउनुभयो ।

मिस्त्रीको अनुभव

लामो समय घर बनाउने मिस्त्रीको रुपमा काम गरेकी उहाँले त्यसबाट पनि राम्रै आम्दानी गर्नुभएको थियो । मिस्त्रीको रुपमा काम गर्न त्यति बेला काठमाडौँ जानुपथ्र्यो । उहाँ १२ वर्ष काठमाडौँ बसेरै काम गर्नुभयो । मिस्त्री काम प्रायः पुरुषले गर्ने भए पनि वीरलै रुपमा महिला पनि भेटिन्थे तर पुरुषजस्तो सहज भने नभएको उहाँको । “महिला प्रायः मिस्त्री काम गर्ने थोरै हुन्छन्”, उहाँले भन्नुभयो, “त्यसमा पनि महिलालाई निकै समस्या हुन्छ । घरको पाँच तलामाथि गएर पनि काम गर्नुपथ्र्यो ।” पुरुष र महिलाबीच हेर्ने व्यवहार पनि समान नहुने गरेको उहाँको भनाइ छ । “महिलाले के मिस्त्री काम गर्न सक्लान्, भन्ने हुन्थ्यो”, उहाँले भन्नुभयो, ‘लेबर’ गर्दागर्दै मिस्त्रीको काम सिकेकी हुँ ।”

Leave a Reply

Your email address will not be published.