नार्कले मनायो ३१ औँ वार्षिकत्सव

बजार बागमती प्रदेश स्थानीय तह
2.4kViews

काठमाडौं : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को स्थापना भएको ३१औ वर्ष पूरा भएको छ। नेपालको कृषि क्षेत्रको समस्याहरु पहिचान गरी तिनको समस्या समाधानका लागि गुणस्तरीय अध्ययन अनुसन्धान र कृषिसम्बन्धी नीति निर्माणमा सहयोग गर्ने उद्देश्यलले विसं २०४८ सालमा एक स्वायत्त संस्थाको रुपमा नार्कको स्थापना भएको हो।

३१ वर्षको अन्तरारमा नार्कले विभिन्न ८० बालीवस्तुका ७२३ जात विकास गरेको छ। नार्कका अनुसार ८० वटा बालीवस्तुको विकास गरेर किसानसम्म पुर्‍याएको छ। बाली तथा वागवानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धानलगायत कृषि क्षेत्रका विभिन्न विधाका उक्त जातहरू उन्मोचन गरिएको नार्कले ३१औँ वार्षिकोत्सवमा जानकारी दिएको छ । हाइब्रिड धानमा नार्कले हर्दिनाथ हाइब्रिड धान १ र हर्दिनाथ धान ३ उन्मोचन गरेको छ ।

डुबान, खडेरी सहन सक्ने बहुगुणी धान १, बहुगुणी धान २ र सुक्खा धान ६ विकास गरेको छ । सुगन्धित धान १ र खुमल वासमती १६ लगायतका वास्नादार धानका धात पनि विकास गरेको छ । चैते धानका जातमा हर्दिनाथ १ र हर्दिनाथ ३, मसिना धानका जातमा हर्दिनाथ ६, चैते ५ र सम्वा मन्सुली सव धान १ विकास गरेको छ । यसैगरी नार्कका योजना तथा समन्वय निर्देशक डा. युगनाथ घिमिरेले मसिनो तथा सुगन्धित धानतर्फ लल्का वासमती विकास गरिएको र जुम्ली मार्सी दर्ताका लागि प्रस्ताव गरिएको बताए ।

घिमिरेका अनुसार पाखोबारी तथा असिञ्चित जग्गामा हुने घैया ३, हर्दिनाथ ४ विकास गरिएको छ भने डुबान हुन सक्ने गंगा सागर १ र गंगा सागर तथा छिटो पाक्ने र असिञ्चित जग्गामा लगाउन सकिने हर्दिनाथ ४ विकास गरिएको छ । मकैतर्फ ध्वाँसे पातडढुवा रोग प्रतिरोधी मनकामना ९ (८०० देखि १ हजार ८०० मिटर उचाइ)मा खेती गर्न सकिने जात सिफारिस गरिएको छ । रामपुर हाइब्रिड १२, रामपुर हाइब्रिड १४ र रामपुर हाइब्रिड १६ उन्मोचनका लागि राष्ट्रिय बिउबिजन समितिबाट पास भएको छ। त्यस्तै तातो सहने जाततर्फ रामपुर हाइब्रिड ८ र रामपुर हाइब्रिड १० विकास गरिएको छ । यस्तै गहुँतर्फ १० वटा जात विकास गरिएकोमा ५ वटा जात जिंकयुक्त रहेका छन् । हिमगंगा, भेरीगंगा, खुमलशक्ति, जिंक गहुँ १, जिंक गहुँ २ जिंकयुक्त जात हुन् ।

सुजीका लागि पनि ड्युरम खजुरा १ र ड्युरम खजुरा गहुँका जात विकास गरिएका छन् भने सुक्खा तथा तातो सहन सक्ने वोर्लग २०२० विकास गरिएको छ । अन्यतर्फ मुसुरो, बोडी, बदाम, उखु, फापर, जौका पनि विभिन्न जात विकास गरिएको छ भने गोलभेडा जातमा खुमल हाइब्रिड १, खुमल हाइब्रिड रहेका छन् । रायो, सखरखण्ड, भन्टा, काँक्रो, चौमसे सिमी, मालेपाटन हिँउदे सिमी १ र मालेपाटन हिँउदे सिमी २ विकास गरिएका छन् ।

त्यसैगरी केरा, आँप, सुन्तला, स्याउलगायतका विभिन्न जात विकास गरिएको नार्कले जनाएको छ । पशु तथा मत्स्यतर्फ बढी उत्पादन दिन सकिने कुखुरा, बोर बाख्रा, कार्प, असला र प्रगासलगायतका माछाका जातको पनि स्तरोन्नति गरिएको छ । नार्क कार्यकारी निर्देशक डा. दीपक भण्डारीले सीमित साधन स्रोतका बाबजुद पनि नार्कले अनुसन्धानका क्षेत्रमा धेरै काम गरेको दावी गरे।

उनले हाइब्रिड जातको प्रयोग नगरी उत्पादकत्व बढाउन नसकिने बताए । कुल बिउबिजनको ५० प्रतिशत हाडब्रिड बिउको प्रयोग गर्दा मागअनुसारको उत्पादन बढ्न सक्ने डा. भण्डारीको भनाइ छ। उनले खाद्यान्नको उत्पादन बढाउन ५० प्रतिशत हाइब्रिड, ३०/४० प्रतिशत विकासे जात र १० प्रतिशत रैथाने जातको प्रयोग गर्नुपर्ने बताए।

निर्देशक भण्डारीले उन्नत जातको बिउको विकास गरेर मात्रै उत्पादन नबढ्ने बताए। उन्नत जातको बिउसँगै कृषकलाई सिँचाइ सुविधाको विकास गर्नुपर्ने उनको भनाइ छ। कृषकलाई सिँचाइको सुविधा नभएकै कारण उत्पादन बढ्न नसकेको बताए।हालसम्म ३० प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको भन्दै उनले धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिबीचको समन्वय गरी अघि बढ्नुपर्ने अति आवश्यक भएको बताए।

Leave a Reply

Your email address will not be published.