नयाँ ४ वटा सहर निर्माणको लागि काठमाडौँमा कित्ताकाट खोल्ने तयारी

बागमती प्रदेश
2.5kViews
काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका ४४,००० रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्ने तयारी गरेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले कृषियोग्य जमिनको खण्डीकरण रोक्ने भन्दै विसं २०७४ देखि देशैभरि जग्गाको कित्ताकाट रोकेको थियो । पछि केही ठाउँमा कित्ताकाट गर्न दिने निर्णय हुँदा त्यो विवादित बनेको थियो । त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कानुन बनाएर कित्ताकाट खुला गर्न आदेश दिइसकेको भए पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन ।
कित्ताकाट रोकिँदा घरजग्गाको अस्वाभाविक मूल्यवृद्धि भएको भन्दै त्यसलाई खोल्नको लागि खासगरि व्यापारीहरू र काठमाडौँका जग्गा व्यापारीहरूले माग गर्दै आइरहेका छन् । सरकारले कित्ताकाट रोके पनि पुरानो मिति राखेर वा अन्य विभिन्न उपाय अपनाएर कित्ताकाट गरी खण्डीकरणको काम भइरहेको उनीहरूको भनाइ छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीकै पहलमा अहिले कित्ताकाट खोल्ने तयारी गरिएको हो । काठमाडौँ उपत्यका भौतिक विकास समितिले केही समय अघि ४४,००० रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त समितिको अध्यक्ष मन्त्री झाँक्री हुन् ।
मन्त्रालयले कित्ताकाट फुकुवा गर्ने प्रस्ताव लगे पनि मन्त्री परिषद्ले अहिलेसम्म त्यस्तो निर्णय गरेको सार्वजनिक भएको छैन । काठमाडौँ उपत्यका विकास प्राधिकरणले विकास गर्ने तय भएको नयाँ नगर क्षेत्रको लागि भन्दै ती जग्गाको कित्ताकाट फुकुवा गर्ने तयारी भएको हो ।
प्राधिकरणले उपत्यकाभित्र चार स्थानमा नयाँ सहर विकासको योजना अघि बढाएको छ । त्यस्ता योजनामा काठमाडौँ ईशान, काठमाडौँ आग्नेय, काठमाडौँ नैऋत्य र काठमाडौँ उत्तर रहेका छन् । समितिको २०७४ वैशाख २४ गते बसेको बैठकले ती चार स्थानमा नयाँ सहर विकास गर्ने निर्णय भन्दै काठमाडौँ ईशानका लागि एक लाख रोपनी र अन्य आयोजनाका लागि १०÷१० हजार रोपनी जग्गा तोकिएको छ । काठमाडौँ ईशान आयोजनाको लागत दुई खर्ब ८६ अर्ब अनुमान गरिएको छ । सबै आयोजनाहरूको कूल लागत ४ खर्ब भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
मन्त्रालयले अघि बढाएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएमा कागेश्वरी मनहरा, शङ्करापुर, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाका विभिन्न क्षेत्रमा रोकिएको कित्ताकाट खुला हुनेछ ।
‘सबैका लागि कित्ताकाट फुकुवा हुन लागेको होइन, हाम्रो आयोजनाको एक लाख रोपनीमध्ये ४४,००० रोपनीको मात्र कित्ताकाट खुला हुन लागेको हो । अब कित्ताकाट फुकुवा भए त्यस क्षेत्रका जग्गाधनीले कित्ताकाट गर्न पाउँछन्’ प्राधिकरणका एक अधिकारीले इएग्रोन्यूजडटकमसंग भने । उनका अनुसार  त्यसका लागि जग्गाधनीले प्राधिकरणमा आएर आफ्नो जग्गा कित्ताकाट फुकुवा भएको हो भनी प्रमाणीकरण गराउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published.