मूल्य वृद्धिः कसरी विभिन्न देशलाई असर परिरहेको छ

विदेश
2.8kViews

जीवनयापनका लागि खाद्यान्न र इन्धनजस्ता आधारभूत वस्तुको मूल्य विश्वभरि बढिरहेको छ । यसमा कम उत्पादन, महामारी र प्राकृतिक ग्यासको अभावजस्ता कारणलाई दोष लगाइएको छ । तर केही देश र क्षेत्रहरू यसबाट निकै प्रभावित भएका छन् ।

सब–सहारा अफ्रिकाका धेरै मानिसले खाना पकाउन मुख्य इन्धनको रूपमा लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) का सिलिन्डर प्रयोग गर्छन् । तर एलपीजी ग्यासको मूल्य निरन्तर बढिरहेको छ ।

देशको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नाइजेरियाका केही क्षेत्रमा ग्यासको खुद्रा मूल्य गत वर्षको तुलनामा दोबरभन्दा बढीले वृद्धि भएको छ । धेरै मानिस फेरि दाउरा, काठका कोइला र मटीतेलजस्ता सस्तो र फोहोर निम्त्याउने इन्धनले खाना पकाउनतिर लागेका छन् । यसले वातावरणलाई मात्र हानि गर्दैन, खाना पकाउने मानिसको फोक्सोमा पनि असर गर्छ ।

बढ्दो तेलको मूल्यले कृषि मलको मूल्य र खेतबारीबाट पसल तथा बजारमा खाद्यान्न ढुवानीको लागत पनि बढाएको छ । नासाको अर्थ अब्जर्भेटरीका अनुसार सुक्खा मौसमले धेरै अफ्रिकी देशमा बालीनालीलाई असर गरेको छ । यसले पनि भाउ बढाएको छ । दक्षिण अफ्रिकी देश अङ्गोलाको राष्ट्रिय तथ्याङ्क निकायका अनुसार देशमा गत वर्ष खाद्यान्नको मूल्य ३६.४ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसङ्घले अफ्रिकामा अहिले २८ करोड कुपोषित मानिस रहेको अनुमान गरेको छ । दक्षिण–पूर्वी अफ्रिकाको मलावीमा हालै मात्र जीवनयापनको बढ्दो लागतले सरकार विरोधी ठूला प्रदर्शनहरू निम्त्यायो ।

टर्की

गत डिसेम्बरमा टर्कीको इस्तानबुल र दक्षिण–पूर्वी सहर दियारबाकिरमा बढ्दो जीवनयापन लागतको विरोधमा हजारौँ मानिसले विरोध प्रदर्शन गरे ।

त्यहाँको तथ्याङ्कसम्बन्धी संस्था टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युट (टिएसआई) का अनुसार गत वर्ष ३६ प्रतिशतले मुद्रास्फीति बढेको छ । टर्कीमा खाने कुराको मूल्य वर्षभरिमा ४४ प्रतिशतले र डिसेम्बर महिनामा मात्रै १४ प्रतिशतले बढेको छ ।

इस्तानबुलमा राज्यद्वारा सञ्चालित बेकरीहरूमा पाउरोटीका लागि हजारौँ मानिस लाइन लाग्ने गरेका छन् । निजी स्वामित्वमा सञ्चालित पसलहरूमा पाउरोटी किन्न नसक्नेहरूका लागि यस्ता पसलमा राज्यले सहुलियत दिने गरेको छ । इन्धन र मलको मूल्यमा भएको वृद्धिले पाउरोटीको मूल्य केही मात्रामा बढेको छ ।
टर्की सरकारले किसानहरूको आय वृद्धिका लागि गहुँ र जौको न्यूनतम मूल्य बढाएका कारण पनि खानेकुरा महँगा भएका छन् ।

तर यहाँ महँगो हुँदै गएको खानेकुरा मात्रै होइन । टर्कीको तथ्याङ्कसम्बन्धी संस्थाका अनुसार सन् २०२१ मा बस, रेल र फेरीको भाडा पनि ५० प्रतिशत बढीले वृद्धि भएको छ । घरमा बालीने बिजुली र ग्यासको मूल्य पनि क्रमशः ५० र २५ प्रतिशतले बढेको छ ।

सरकारले सामान्यतया ब्याजदर बढाएर मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयास गर्छ । ब्याजदर बढाउँदा मानिसलाई ऋण लिन अप्ठ्यारो हुन्छ र पैसाको प्रयोग घट्छ । तर टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले ब्याजदर बढाउने कार्य ‘धनीलाई झन् धनी र गरिबलाई थप गरिब बनाउने दुष्टता’ हुने भन्दै त्यस्तो कदम चाल्न अस्वीकार गरेका छन् ।

गत वर्ष राष्ट्रपति एर्दोआनले टर्कीको केन्द्रीय ब्याङ्कलाई ब्याजदर घटाउन आदेश दिए । यसले टर्कीको मुद्रा लिराको मूल्य अमेरिकी डलरको तुलनामा ४५ प्रतिशतले घटेको छ र आयातित सामानको मूल्य बढाएको छ। मूल्यवृद्धिपछि सरकारले न्यूनतम पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गरेको छ ।

इस्तानबुलको स्पिन कन्सल्टिङका संस्थापक साझेदार अर्थशास्त्री ओज्लेम डेरिसी सेङ्गुलले टर्कीमा मुद्रास्फीति दर आगामी वसन्तसम्म ५० प्रतिशत पुग्ने चेतावनी दिएका छन् । लगानीसम्बन्धी टर्कीको ब्याङ्क गोल्डम्यान साक्सले पनि मुद्रास्फीति ४० देखि ५० प्रतिशतको बीचमा बढ्ने भविष्यवाणी गरेको छ ।

ब्राजिल

ब्राजिल सरकारको भूगोल र तथ्याङ्क संस्थान (आइजीबीई)का अनुसार यो देशमा उपभोक्ताहरूले वस्तु खरिद गर्ने मूल्य एक वर्षमा १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

ब्राजिलमा इन्धनको मूल्यमा ५० प्रतिशत वृद्धि भएको छ। गम्भीर खडेरीका कारण गत वर्ष चामल र गेडागुडीजस्ता मुख्य खाद्यान्नसँगै पशु आहारको पनि अभाव भयो । जसका कारण गत वर्ष खाद्यान्नको मूल्य १४ प्रतिशतले बढ्यो ।

ब्राजिल विश्वमै सबैभन्दा धेरै गाईवस्तु पाल्ने देश हो। तर गत वर्षको तुलनामा यहाँ गाईको मासुको मूल्य अत्यधिक बढेको छ। ब्रजिलको सर्वेक्षणसम्बन्धी संस्था डाटाफोल्हा इन्स्टिच्युटका अनुसार महँगो भएका कारण यो देशमा गाईको मासु किन्नेहरू ६७ प्रतिशतले घटेका छन् । ब्राजिलमा विश्वकै सबैभन्दा धेरै गाईवस्तु रहेको तथ्याङ्क छ ।

गत वर्षको खडेरीका कारण ब्रजिलमा ऊर्जाको मूल्य पनि बढेको छ । देशमा आवश्यक ऊर्जाको ठूलो मात्रा उत्पादन गर्ने ब्रजिलका जलविद्युत् आयोजनाहरू पानीको अभावमा बन्द गर्नुपरेको थियो । जस कारण गत वर्ष घरमा प्रयोग हुने बिजुलीको मूल्य २५ प्रतिशतले बढ्यो ।

ब्रजिलको जीवनस्तर सन् २०१२ यताकै सबैभन्दा खराब छ । अनुसन्धानसम्बन्धी संस्था गेटुलियो वर्गास फाउन्डेसनको अनुमानमा ब्रजिलको २१ करोड जनसंख्यामा २ करोड ७७ लाख मानिस गरिबीको रेखामुनि छन् । ब्राजिलमा मासिक ४९ अमेरिकी डलर अर्थात् ५,८०० नेपाली रुपैयाँभन्दा कम आम्दानी हुनेहरूलाई गरिबीको रेखामुनि राखिएको छ ।

श्रीलङ्का

कोलम्बोको आधिकारिक उपभोक्ता मूल्य सूचकाङ्क (सीसीपीआई)का अनुसार खाद्यान्नको मूल्य गत वर्षको तुलनामा यस पटकको २० प्रतिशतले बढेको छ । आवश्यक खाद्यान्नको आयातमा खर्च जुटाउन यो टापु राज्यले सङ्घर्ष गरिरहेका कारण मूल्य बढेको निष्कर्ष छ । कोरोनाभाइरस महामारीको कारण विगत दुई वर्षदेखि श्रीलङ्काले पर्यटनबाट हुने नियमित आम्दानी गर्न सकेको छैन । फलस्वरूप यसको विदेशी मुद्रा सञ्चिति निकै कम भएको छ । वाणिज्य ब्याङ्कहरूसँग विदेशबाट सामान खरिदका लागि विदेशी मुद्रा सकिएपछि खाद्यान्न आयातमा रोक लगाउन सरकार बाध्य भयो ।

यसले पसलहरूमा खाद्यान्नको अभाव सिर्जना भएको छ । चामल, गहुँको पिठो र पाउडर दूधजस्ता धेरै खाद्यान्नमा भारी मूल्यवृद्धि भएको छ ।
यस वर्ष खाना पकाउने ग्यासको मूल्य ८५ प्रतिशतले बढेको सीसीपीआईले जनाएको छ । जनतामा व्याप्त आक्रोश मत्थर पार्न सरकारले एक अर्ब अमेरिकी डलरको राहत प्याकेज घोषणा गरेको छ । त्यसमा सरकारी कर्मचारीहरूको तलब र पेन्सन बढाउने सम्मका योजना छन् । श्रीलङ्काले कतिपय खानेकुरा र औषधिमा कर छुटसँगै गरिब नागरिकको आयमा सहयोग गर्ने नीति लिएको छ ।

स्रोत विविसी

Leave a Reply

Your email address will not be published.