माटो छुन छोड्दै, कालो सुँगुरमा भविष्य खोज्दै कुमाल समुदाय

पशुपन्छी पालन बंगुर
2.7kViews

गण्डकी : पेसाले माटाका भाँडाकुँडा बनाउने रुपमा पुस्तौँदेखि पहिचान बनाउँदै आएका कुमाल समुदाय पछिल्लो समयमा भने माटोको विकल्प खोज्न थालेका छन् ।

परापूर्वकालदेखि माटाकै भाँडाकुँडामा रमाएका कास्कीको रुपा गाउँपालिका–३ पोल्याङटारका कुमाल समुदाय यतिखेर माटो छुन छोडेर कालो सुँगुरमा भविष्य खोज्न थालेका हुन् । माटाका समानको क्रमशः प्रयोगमा कम हुँदै जानुका साथै युवापुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै गएका कारण उनीहरु सुँगुरपालनतर्फ लोभिएका हुन् ।

सुँगुरपालनमा राम्रै आम्दानी हुँदै जान थालेपछि एकपछि अर्को हुँदै अधिकांश कुमाल समुदाय कालो सुँगुरपालनतर्फ लागेको स्थानीयवासी सरिता कुमालले बताउनुभयो । “घर छेउमा निर्माण गरेको सामान्य खोरमा कालो सुँगुरका चारवटा माउ छन्”, उहाँले भन्नुभयो, “एक वर्षको अवधिमा चार हजार ५०० का दरले ३५ वटा पाठा र चारवटा हुर्केका सुँगुर बिक्री गरेर कूल दुई लाख ५१ हजार आम्दानी भयो ।”

रोगको प्रकोप कम हुने र पाल्न पनि खासै धेरै ध्यान दिनु नपर्ने, बिक्री गर्न कुनै समस्या नहुने, पाल्नका लागि सुँगुरका पाठापाठी र मासुका पारखी खरिद गर्न घरघरै आउने गरेको उहाँको भनाइ छ । एउटा माहुले विरपाठो (सुँगुरको भाले) लागेको ११४ दिनमा ब्याउने र एक बेतमा १० देखि १७ वटासम्म पाठापाठी जन्माउने गरेको बताउँदै उहाँले चारवटा माहु हुने हो भने सामान्य परिवारको जीविकोपार्जनका लागि विदेशिनुपर्दैन भन्नुभयो ।

खोरमा यतिखेर आठ वटा माहु र एउटा विरपाठो गरी नौवटा सुँगुर छन् । तीमध्ये चार वटा माहुले २८ पाठापाठी जन्माएकोमा पाँचवटा बिक्री भई सके र अरु हुर्कदै छन् भने बाँकी माहु ब्याउने भएको स्थानीयवासी हीरालाल कुमालले बताउनुभयो ।

वैदेशिक रोजगारको सिलसिलामा ११ वर्ष खाडीमुलुक कतारमा बिताएर स्वदेश फर्कनुभएका उहाँले एक वर्षको अवधिमा लगभग ७० पाठापाठी बिक्री गरेर रु तीन लाख १५ हजार आम्दानी गरेको राससलाई बताउनुभयो । उहाँले रु छ लाख खर्चेर खोर निर्माण गर्नुभएको हो । परिवारसँग छुट्टिएर विदेशको तातो धुपमा काम गर्नुभन्दा स्वदेशमा नै परिवारसँगै बसेर गरेको सानो आम्दानी महत्वपूर्ण हुनेमा जोड दिँदै उहाँले सरकारीस्तरबाट केही सहयोग पाउने हो भने खोरमा ३० माहु पु¥याएर वार्षिक ३०० पाठापाठी उत्पादन गर्ने र यसको बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

“कम समय, खासै रोग पनि लाग्दैन, छोटो समयमा बढी आम्दानी दिने, बिक्री हुँदैन कि भन्न नपर्ने सुँगुरपालनबाट राम्रो आम्दानी हुन्छ”, कुमालले भन्नुभयो, “माटाका भाडा बनाउने पुख्र्यौली पेसा सङ्कटमा परेपछि कुमाल समुदायले सुँगुर पालनलाई विकल्पको रुपमा लिन थालेका हुन ।” विशेष गरी चोकर, धानको ढुटो, कर्कलोको डाठ पकाएर, घरेलु मदिरा उत्पादन गर्दा खेर जाने कट सुँगुरको मुख्य आहाराको रुपमा प्रयोग गर्दै आएको उहाँकी श्रीमती विलकुमारी कुमालले बताउनुभयो ।

व्यावसायिकरुपमा सुँगुरपालन गर्दा अपनाउनुपर्ने सतर्कता, खोर व्यवस्थापन, रोगका बारेमा सामान्य जानकारी पाउने खालको तालिम पाउने हो भने यसबाट पोल्याङटारका कुमाल समुदायले बढीभन्दा बढी फाइदा लिन सक्ने उहाँको भनाइ छ । उनीहरुको खोरमा सुँगुरसँगै कुखुरा, गोठमा भेँडा, बाख्रा, भैँसी समेत छन् ।

स्थानीय उदयबहादुर कुमालका अनुसार यस क्षेत्रमा गत वर्ष मात्र दुई हजार ५०० पाठापाठीको माग रहेकामा उत्पादन भएका एक हजार ६०० वटा बच्चा बिक्री गरी कूल रु ७० लाख र हुर्केका सुँगुर बिक्रीबाट रु १५ लाख गरी गाउँमा कूल रु ८५ लाखभन्दा बढी आम्दानी भएको थियो । गाउँका माहु सुँगुरले पाठो खोज्दा आफ्नोमा ल्याउने गरेको बताउँदै उहाँले एउटा माहुलाई विरपाठो दिएबापत रु एक हजार ५०० शुल्क लिने गर्दा त्यसबाट पनि थप आम्दानी हुने गरेको बताउनुभयो ।

“यस वडामा लगभग २०० घरपरिवार कुमाल समुदायका छन् प्रत्येक घरमा धेरै थोरै सुँगुर सबैले पालेका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समयमा कुमाल समुदायमा लोकल सुँगुर पाल्ने प्रचलन बढेको छ ।” उक्त समुदायमा चाडपर्व मनाउनका लागि पनि सुँगुर पाल्ने प्रचलन रहेको छ । सुँगुरपालनमा राज्यको तर्फबाट आजसम्म कुनै पनि सहयोग हुन नसकेकोमा उहाँहरूले सामूहिक दुखेसो गर्नुभयो ।

कुमाल बस्तीमा यतिखेर स्थानीय जातका २०० भन्दा बढी सङ्ख्यामा माहु रहेका छन् । यस पेसामा परिवारका जुनसुकै उमेर समूहका सदस्य पनि लाग्ने गरेको बताउँदै उहाँले माहुको मासु प्रतिधार्नी ८०० र विरपाठोको मासु प्रतिधार्नी रु एक हजारमा बिक्री हुने गरेको जानकारी दिनुभयो । माटाका भाडाको उत्पादन मूल्य बढी पर्नु र बजारमा सस्तो मूल्यमा बलियो प्लाष्टिकका भाडा आएसँगै उपभोक्ता प्लाष्टिकका भाडा प्रयोग गर्न थालेपछि माटाका भाडा बनाउने परम्परागत पेसाबाट विस्थापित हुनुपरेको बताउँदै उहाँले स्थानीय जातको कालो सुँगुरपालनतर्फ आकर्षित हुन थालेको जानकारी दिनुभयो ।

आजभन्दा सात दशकअघिसम्म माटाका भाडा बनाउने पुख्र्यौली पेसा रहेको सो समुदायमा पछिल्ला पुस्तालाई भने माटोको भाडा बनाउने प्रविधिबारेमा कुनै पनि जानकारी छैन । कुमाल समुदायले उत्पादन गरेको माटाका भाडा विशेष गरी परम्परागत लाग्ने मेला महोत्सवमा बिक्री हुने गरेका थिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार गाउँपालिकाले कुमाल समुदायको उत्थानका लागि सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रलगायत उत्पादनमा जोड दिँदै आएको बताउनुभयो ।

कुमाल समुदायका बासिन्दाले सुँगुरपालन व्यवसायका लागि सीप तथा ज्ञानका लागि गाउँपालिकाले आवश्यकताअनुसारको तालिम उपलब्ध गराउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीय जागरुक्ता अपरिहार्य छ ।” कुमाल समुदायको सक्रियतामा कालो सुँगुरपालनले व्यावसायिकता पाउँदै गरेको उहाँको भनाइ छ ।

कुमाल समुदायको परम्परागत पेसा, कला, संस्कृति, भाषा, वेषभूषाको संरक्षणमा संगठित गर्दै व्यावसायिक वनाउने उद्देश्यका साथ उक्त क्षेत्रमा बहुउद्देश्यीय भवन निर्माण सुरु गरिएको स्थानीयवासी बलभद्र कुमालले जानकारी दिनुभयो । भवन निर्माणसँगै पुख्र्यौली पेसा माटाका भाडा बनाउने यन्त्रचक्र समेत प्रदर्शनका लागि राखिने तयारी गरिएको बताउँदै उहाँले भवन निर्माणसँगै कुमाल समुदायलाई आफ्ना हक अधिकारको लागिसमेत सङ्गठित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “कूल रु ६० लाखको लागतमा निर्माण गरिने दुई तल्ले उक्त भवनका लागि जिल्ला समन्वय समिति कास्कीको मौजुदा कोषबाट रु २० लाख, रुपा गाउँपालिकाबाट रु पाँच लाख र बाँकी विभिन्न सङ्घसंस्था, व्यक्ति एवं स्थानीय जनश्रम परिचालन गरेर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । कुमाल समुदायको महत्वपूर्ण पर्व माघी पर्व सोही भवनमा मनाउने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ । उक्त नवनिर्मित भवनको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले हालै शिलान्यास गर्नुभएको हो ।

कास्कीको पोल्याङटारसहित रिठ्ठेपानी, भण्डारढिकलगायतका स्थानमा कुमाल समुदायको बसोवास रहेको छ । सबै स्थानमा बसोबास गर्ने सम्पूर्ण कुमाल समुदायले पछिल्लो समय स्थानीय लोकल सुँगुर पाल्ने गरेका छन् ।

अल्पसङ्ख्यकका रुपमा सूचीकृत कुमाल समुदायको मुलुकमा कूल एक लाख २६ हजार मात्र जनसङ्ख्या रहेको विगतको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.