पुस्कर आचार्य
कृषि प्राविधिक
बेमौसमी तरकारी खेती गर्नलाई मौसम प्रतिकुल भएको अवस्थामा विरुवा तयार गर्न विशेष किसिमको स्थान, प्रविधि, सीप र जागरको आवश्यकता पर्दछ । प्रतिकुल मौसम भन्नाले ज्यादा गर्मी र ओसिलो मौसम, ज्यादा पानी पर्ने मौसम, ज्यादा चिसो र तुषारो पर्ने मौसम र उमार्न खोजिएको विरुवालाई नमिल्दो वातावरण भएको मौसम भन्ने बुझिन्छ । सामान्य तरकारी खेती भन्दा बेमौसमी तरकारी खेतीको विशेष महत्व हुन्छ । त्यसैले बेमौसमी तरकारी खेतीको महत्व निम्न अनुसार छन् ।
१ सामान्य समयमा भन्दा फरक समयमा बेमौसमी तरकारी उत्पादन हुने भएकोले,
२ बेर्ना तथा तरकारी उत्पादनबाट सेवा पु¥याउने र बढी फाइदा लिन सकिने भएकोले,
३ उत्पादन समयलाई लम्ब्याएर बेमौसमी बजारको फाइदा लिन सकिने भएकोले,
४ बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने भएकोले,
५ रोजगारीको अवसर सृजना हुने भएकोले,
६ नगद आर्जनको साथै तरकारी आयातमा कमि ल्याई स्वदेशी मुद्रा बाहिर जानबाट बचाउने भएकोले,
७ विभिन्न बजारको माग आपूर्ति हुने भएकोले ।
बेमौसमी तरकारी खेती गर्नको लागि विभिन्न अवस्थाहरुको विचार पु¥याउनु पर्ने हुन्छ । अन्यथा आशातित लाभ हुन सक्दैन । हाल नेपालमा विकसित भएका बेमौसमी तरकारी उत्पादन क्षेत्रमा धादिङको धुनिवेसी, मकवानपुरको दामन, काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली, रानी पौवा आदि रहेका छन् । पछिल्लो समयमा खासगरि व्यवसायिक खेती गर्ने युवाहरु वेमौसमी तरकारी खेती तर्फ आकर्षित भैरहेका छन् ।
बेमौसमी तरकारी खेतीका तरीकाहरु
परम्परागत खेती तरीकामा अनुकूल मौसममा खेती गर्ने र कृषकको ध्यान बढी उत्पादन गर्नुमा रहन्छ । बेमौसमी तरकारी खेतीमा कृषकको ध्यान तरकारी उत्पादन गर्न आवश्यकत वातावरण जुटाउन र बाली चाँडो परिचालन गरी अधिकताम फाइदा लिनेमा केन्द्रित रहन्छ । प्रतिकुल मौसम रहेको अवस्थामा तरकारी खेती वा बेर्ना उत्पादनको लागि वातावरण अनुकूल पार्न प्रयास गरिन्छ । यस बाहेक निम्न बमोजिमको विधि अपनाएर पनि बेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ ।
भौगोलिक उपयोग
भौगोलिक विविधताको कारण पहाड, उपत्यका, तराई, फाँट, वेसी आदि क्षेत्रमा विभिन्न किसिमका हावापानी पाइन्छ । विविध हावापानी भएका विशेष उत्पादन क्षेत्रहरु नजिकका शहरका लागि बेमौसमी तरकारी उत्पादन क्षेत्र हुन सक्छन् । जस्तैः धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर आदि जिल्लाको केही पालिका र वडाहरु काठमाडाैँ उपत्यकाको लागि बेमौसमी तरकारी उत्पादन क्षेत्र हुन् । त्यस्तै कतिपय पहाडी जिल्लाहरु तराईका शहरहरुका लागि बेमौसमी तरकारी उत्पादन क्षेत्र हुन सक्दछन् । जस्तैः विराटनगर र झापाको लागि धनकुटा, इलाम, बुटवलको लागि पाल्पा, गुल्मी, अर्घाखाँची, धनगढीको लागि डडेल्धुरा आदि ।
हावापानीको उपयोगले तरकारी उत्पादन क्षेत्रमा भने मौसमी उत्पादन र उपभोग गर्ने ठाउँमा भने बेमौसमी हुन गई कृषकहरुलाई बढी फाइदा हुन्छ । समयको फरक पारी खुल्ला वातावरणमै केही तरकारीहरु बेमौसममा उत्पादन गर्न सकिन्छ । यसरी रोप्ने समयमा १०, १५ दिनको फरक पारे तरकारी उत्पादन अवधि लम्ब्याउन सकिन्छ । फलस्वरुप अगाडि वा पछाडिका तरकारी बालीहरु मौसमीको रुपमा उत्पादन हुन सक्छन् र बढी मूल्य पाइन्छ ।
जातिय विविधता
हरेक तरकारी बालीको अगौटे, मध्यम र पछौटे जातको विकास गरिएको हुन्छ । यसरी विभिन्न जातका छनौटबाट तरकारीहरु बेमौसममा पनि उब्जाउन सकिन्छ । जस्तैः काउलीको अगौटे अर्लि स्नोवल, पुसा दिपावली, मध्यम काठमाडाैँ स्थानिय, पछौटे स्नोवल १, आदि ।
अनुकूल वातावरणको सृजना
विरुवालाई आवश्यक हावापानीको अनुकूल वातावरण पु¥याउन सके चाहिएको समयमा माग बमोजिमको ताजा तरकारी उत्पादन गर्न सकिन्छ । यसरी बाह्य वातावरणलाई पूर्ण वा आंशिक रुपमा नियन्त्रण गरी तरकारी बाली सुहाउंदो पार्न सकिन्छ ।
तस्विरः पिताम्बर श्रेष्ठ, लिवर्ड